
रणभुमी डेस्क शनिबार, चैत्र २३, २०८१

काठमाडौ / विभिन्न जिल्लामा प्रहरीले अवैध लागूऔषध कारोबारीविरुद्ध छापा मारी १५ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट ठूलो मात्रामा लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा प्रहरीले दुई जनालाई अलग-अलग स्थानबाट पक्राउ गरेको छ। ३१ वर्षीय किशोर भट्टलाई १ ग्राम ६२० मिलिग्राम र ३० वर्षीय दिपेश बोगटीलाई ८१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको छ।
कैलालीमा पनि प्रहरीले विभिन्न स्थानबाट कारबाही गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। धनगढी उपमहानगरपालिकाबाट २७ वर्षीय कमल रानालाई २२० मिलिग्राम र अन्य दुई जना १९ वर्षीय गोविन्द कठायत र २२ वर्षीय दिपक बोहरालाई १ ग्राम १८० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको छ। यसैगरी, भजनी नगरपालिकामा प्रहरीले तीन जनालाई २ ग्राम १५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ।
मोरङमा प्रहरीले दुई अलग घटनामा दुई जनालाई पक्राउ गरेको छ। केराबारी गाउँपालिकाका ४२ वर्षीय निरज श्रेष्ठलाई विराटनगरमा ९ ग्राम ३१० मिलिग्राम र २१ वर्षीय सुजन विश्वकर्मालाई ३ ग्राम २६० मिलिग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको छ।
झापाको काँकरभिट्टामा मोरङ उर्लावारी निवासी १९ वर्षीय सुनिल विश्वकर्मालाई १ ग्राम २३० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको छ।
सबैभन्दा ठूलो मात्रामा लागूऔषध मकवानपुरमा फेला परेको छ। हेटौंडा उपमहानगरपालिकाका २१ वर्षीय हरसित राज मुक्तान र २२ वर्षीय समतेन डिमडुङलाई ४३ ग्राम ६५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ। उनीहरूबाट १ लाख ३० हजार १ सय १० रुपैयाँ, ३ थान मोबाइल र सुनका गरगहना समेत बरामद भएको छ।
सिराहामा भारतबाट आउँदै गरेका सिन्धुली दुधौलीका २४ वर्षीय प्रबिन बुढाथोकी र २२ वर्षीय श्रवण कुमाललाई २ ग्राम ५०० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको छ।
प्रहरीले पक्राउ परेका सबै व्यक्तिमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।