
रणभुमी डेस्क शुक्रबार, चैत्र २१, २०८१

काठमाडौं / हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। बुधबार साँझ काठमाडौं महानगरपालिका-२७ महाबौद्ध क्षेत्रबाट २६ वर्षीया रिक्षे वाङ्मो लाई नगद २० लाख ९२ हजार रूपैयाँसहित प्रहरीले पक्राउ गरेको हो।
प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले महाबौद्ध क्षेत्रमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा छापा मारी उनलाई पक्राउ गरेको जनाएको छ।
तिब्बत घर भएकी वाङ्मोको भारत सुजा-३ जोगिन्दर नगर मडीमा पनि ठेगाना रहेको र हाल उनी काठमाडौं महानगरपालिका-६ बौद्धमा बस्दै आएको प्रहरीले जनाएको छ।
पक्राउ परेकी वाङ्मो विरुद्ध जिल्ला अदालत काठमाडौंबाट ४ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
हुण्डी कारोबारलाई नेपालको कानुनले गैरकानुनी मानेको छ र यस्तो अवैध वित्तीय कारोबारले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पार्ने अधिकारीहरूले बताउँदै आएका छन्।