
रणभुमी डेस्क शुक्रबार, चैत्र २१, २०८१

काठमाडौं / नेपाल प्रहरीले बिहीबार विभिन्न जिल्लाहरूबाट अवैध लागूऔषध कारोबारमा संलग्न १२ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट प्रहरीले खैरो हेरोइन, ब्राउनसुगर, गाँजा, अनरेक्स लगायतका लागूऔषध तथा नगद रकम बरामद गरेको छ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ मा डेरा गरी बस्ने थाहा नगरपालिका-७ का ३४ वर्षीय दिनेश गोले सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय हेटौंडाले उनीहरूको कोठा खानतलासी गर्दा खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम, अनरेक्स १ सय एमएलको ११ बोतल र नगद ३७ हजार रूपैयाँ बरामद गरेको छ।
झापाको बिर्तामोड नगरपालिका-३ समाबेशी टोल कचुबारी निवासी राजु माझीलाई प्रहरी चौकी बिर्ताबजारको टोलीले घर खानतलासी गर्ने क्रममा खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १७० मिलिग्राम सहित पक्राउ गरेको छ।
मोरङको जहदा गाउँपालिका-५ निवासी ३३ वर्षीय अरबिन साहलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले गाँजा १५ किलोग्राम, मोबाइल २ थान, भारतीय रुपैयाँ ५,५०० र नेपाली रूपैयाँ ९,५०० सहित पक्राउ गरेको छ।
कैलालीको धनगढी उपमहानगरपालिका-११ बेला निवासी २५ वर्षीय मुन्ना भन्ने आशाराम चौधरीलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित पक्राउ गरिएको छ। यसैगरी, गोदावरी नगरपालिका-८ का २३ वर्षीय महेन्द्र शाहीलाई धनगढी उपमहानगरपालिका-३ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम सहित पक्राउ गरिएको छ।
उदयपुरको कटारी नगरपालिका-४ सिम्लेबाट गाँजा ५७० ग्राम सहित स्थानीय ४० वर्षीया पुनम मगर, २५ वर्षीय नवराज बिक र ओखलढुंगाका २२ वर्षीय बिशाल परियारलाई पक्राउ गरिएको छ। त्यसैगरी, कटारी नगरपालिका-३ शुभकामना टोलका ३७ वर्षीय नारायण सुनुवारलाई गाँजा ५३० ग्राम सहित पक्राउ गरिएको छ।
कञ्चनपुरको बेदकोट नगरपालिका-७ बसन्तपुर निवासी २६ वर्षीय बिनोद धामीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम १ मिलिग्राम र डिजिटल तराजु सहित नियन्त्रणमा लिएको छ।
प्रहरीले पक्राउ परेका सबै व्यक्तिहरूमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ। नेपाल प्रहरीले लागूऔषध कारोबार विरुद्ध चलाएको अभियान अन्तर्गत यी कारबाहीहरू गरिएका हुन्।