
रणभुमी डेस्क शुक्रबार, चैत्र २२, २०८१

विराटनगर / तेली कल्याण समाज नेपाल, मोरङ जिल्ला कार्यसमितिले आगामी चैत ३० गते शनिबार विराटनगरमा तेली समुदायका महिलाहरूलाई विशेष सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ।
विगत तीन वर्षदेखि व्यापार, उद्योग, कृषि, चिकित्सा, इञ्जिनियरिङ, प्रशासनिक सेवा लगायतका क्षेत्रमा योगदान दिने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको संस्थाले यस वर्ष विशेष रूपमा तेली समुदायका महिलाहरूलाई सम्मान गर्ने निर्णय गरेको हो।
भारतको दिल्लीमा रेखा गुप्ता मुख्यमन्त्री निर्वाचित भएको सन्दर्भमा नेपालका तेली महिलाहरूलाई उत्प्रेरित गर्न तथा समाजमा उनीहरूको योगदानको कदर गर्न यो कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ।
सम्मान कार्यक्रमका लागि समाजका मोरङ जिल्ला सदस्य ऋषिराज सेठको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरिएको छ। उक्त समितिमा जिल्ला सदस्यहरू गणेश साह, अरुणा साह, रंगेली कार्यसमितिका उपाध्यक्ष भिम साह र विराटनगर कार्यसमितिका सचिव जगत लाल साहु सदस्य रहेका छन्।
विभिन्न क्षेत्रमा संघर्ष गरेर सफल भएका तथा समाजसेवामा विशेष योगदान दिएका तेली महिलाहरूलाई छनोट गरी सम्मान गरिने संयोजक सेठले बताए। “तेली समुदायको योगदानलाई उजागर गर्न र विशेष रूपमा महिलाहरूलाई नेतृत्वमा उभ्याउन यो पहल महत्वपूर्ण छ,” उनले भने।
सम्मानका लागि तेली समाजका विभिन्न समितिहरूले आफ्ना क्षेत्रमा विशिष्ट सेवा दिएका, संघर्षशील, उच्च अध्ययन गरेका, जनप्रतिनिधिका रूपमा कार्यरत, समाजसेवी, व्यवसायी वा उद्यमी महिलाहरूको नाम सिफारिस गर्न सक्नेछन्। साथै, इच्छुक तेली महिलाहरूले समाजको आधिकारिक इमेल [email protected] मा तेली महिला भएको खुल्ने कागजात सहित सम्मान गर्नुपर्ने कारण उल्लेख गरी आवेदन दिन सक्नेछन्। त्यसैगरी नगर, गाउँ, वडा, युवा, महिला, शिक्षा, स्वास्थ्य समिति तथा जिल्ला वा सम्मान समितिलाई सोझै सम्पर्क गर्न पनि सकिने जानकारी दिइएको छ।