
रणभुमी डेस्क आइतबार, फाल्गुण २५, २०८१

विराटनगर / जिल्ला प्रशासन कार्यालय मोरङले आगामी होली (फागु पूर्णिमा) पर्वको अवसरमा एक महत्वपूर्ण सूचना जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवद्वारा जारी गरिएको सूचनामा सम्पूर्ण जिल्लावासीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दै मर्यादित रुपमा होली पर्व मनाउन अनुरोध गरिएको छ।
सूचनामा मोरङ जिल्लालाई साँस्कृतिक, पुरातात्विक तथा पर्यटकीय नगरीको रुपमा चिनाउँदै आ-आफ्नो धार्मिक, सांस्कृतिक र सामाजिक परम्पराको संरक्षण र सम्बर्द्धन गर्दै सभ्य र सु-संस्कृत रुपमा होली पर्व मनाउन आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले होली पर्वको अवसरमा हुनसक्ने अवाञ्छित गतिविधिहरुबारे सचेत गराउँदै अरुको इच्छा विपरित जवरजस्ती रंग हाल्ने, प्लाष्टिकजन्य लोला हान्ने, फोहोर छ्याप्ने, बाटोमा हिँड्ने यात्रीहरुलाई दुःख दिने, बाटो अवरोध गर्ने, सवारी साधनबाट रकम असुल्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सार्वजनिक स्थानमा हो-हल्ला गर्ने र चर्को आवाजमा डिजे बजाउने जस्ता कार्यहरु नगर्न अनुरोध गरेको छ।
सूचनामा थप उल्लेख गरिए अनुसार, यस्ता अवाञ्छित क्रियाकलापहरु गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने जानकारी दिइएको छ। प्रशासनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई होली पर्वलाई व्यवस्थित, मर्यादित र मनोरञ्जनपूर्वक मनाउँदै समाजमा शान्ति र सद्भाव कायम गर्न सहयोग गर्न सबैलाई आह्वान गरेको छ।