भोजराज घिमिरे आइतबार, पुष २१, २०८१
विराटनगर / मोरङको बुढीगंगा गाउँपालिका–१, मिलन चोकस्थित टंकीसिनवारी कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था लिमिटेडको १९औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भलाकाजी राईले गरेका थिए। प्रमुख अतिथिका रूपमा बुढीगंगा गाउँपालिका वडा नं. १ का अध्यक्ष सोमराज काफ्ले, विशिष्ट अतिथिका रूपमा गाउँपालिकाकी उपाध्यक्ष अमृता कुमारी गच्छदार, विभिन्न सल्लाहकार, संचालक समिति सदस्यहरू, लेखा समिति र उपसमितिका सदस्यहरू, जेष्ठ शेयर सदस्यहरू, र अन्य शेयर सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा लेखा समितिका संयोजक दिप के.सी.ले आर्थिक वर्ष २०८०/८१ को लेखा प्रतिवेदन प्रस्तुत गरे। प्रतिवेदन अनुसार, संस्थाको सम्पत्ति तथा पुँजी रु. ४,२८,५०,०५२।८१, आम्दानी रु. १,७३,८७,६८५।६७, र खर्च रु. १,७१,२९,६५९।४६ रहेको छ। प्रतिवेदनले सहकारी ऐन, नियमावली, र संस्थाको विनियमअनुसार लेखा व्यवस्थापन गरिएको जानकारी दिंदै, संस्थाको गतिविधिहरूलाई थप व्यवस्थित गर्न आवश्यक सुझावहरू समेटेको छ।
संस्थाका अध्यक्ष भलाकाजी राईले संस्थाको विगत, वर्तमान अवस्था, र आगामी योजनाहरू प्रस्तुत गर्दै सहकारीको दीर्घकालीन उद्देश्य व्यवसायिक सहकारीको रूपमा विकसित गर्दै सदस्यहरूको आर्थिक, सामाजिक, र सांस्कृतिक समृद्धिमा योगदान पुर्याउने रहेको बताए।
राईले बुढीगंगा गाउँपालिका वडा नं. १ को कृषि कार्यक्रम अन्तर्गत टनेल र कौशी खेतीका लागि बजेट विनियोजन गरिदिएकोमा वडा कार्यालयप्रति विशेष आभार व्यक्त गरे। साथै, सदस्यहरूको सक्रिय सहभागिताले संस्थाले प्रतिकूल परिस्थितिहरूमा पनि उल्लेखनीय प्रगति गर्दै लाभांश वितरण गर्न सफल भएकोमा खुशी व्यक्त गरे
सभाले यस वर्ष असामयिक निधन भएका शेयर सदस्यहरू भक्त कुमारी राई र रामबहादुर कार्कीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्यो।
यसैगरी, संस्थाको निरन्तर प्रगतिमा योगदान पुर्याएका जेष्ठ शेयर सदस्यहरू आशाराम थन्दार, केशर बहादुर केसी, गोकुल अधिकारी, नवराज बिष्ट, मुंगालाल यादव, र नरेन्द्र बहादुर अर्याललाई सम्मान गरियो ।
अध्यक्ष राईले सहकारीलाई व्यवसायिक संस्थाका रूपमा विकास गर्न आगामी कार्ययोजना प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि सदस्यहरूको सहभागितामा आधारित योजना अघि बढाइने जानकारी दिए। सचिव श्री ध्रुव प्रसाद नेपाल र कोषाध्यक्ष श्री भोगेन्द्र चौधरीद्वारा प्रस्तुत आगामी कार्ययोजना र वित्तीय विवरणलाई छलफल गरी अनुमोदन गर्ने निर्णय सभाले पारित गर्यो।
संस्थाका अध्यक्षले सहकारीको प्रगतिका लागि सहयोग पुर्याउने कर्मचारी, कोशी प्रदेशका कृषि तथा सहकारी निकायहरू, बुढीगंगा गाउँपालिका, र वित्तीय संस्थाहरूप्रति आभार व्यक्त गर्दै संस्थाको प्रगतिको लागि निरन्तर योगदान पुर्याउने प्रतिबद्धता जनाए।
सभाले संस्थाको दीर्घकालीन सफलताका लागि सबै शेयर सदस्यहरूको निरन्तर सहयोग र सहभागिताको अपेक्षा गर्दै धन्यवाद ज्ञापनका साथ सभा समापन गर्यो।