रणभुमी डेस्क शनिबार, पुष २०, २०८१
विराटनगर / मोरङ्ग जिल्लाको बुढिगंगा गाउँपालिकामा प्रहरीले २९ किलोग्राम लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको गस्ती टोलीले गत पुस १९ गते राति साढे ८ बजेतिर मुडेरी रमाईलो टोलमा दुईवटा मोटरसाइकल जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो।
पक्राउ पर्नेहरूमा धनकुटाका ३० वर्षीय मोहन राई, सुनसरी दुहबीका २१ वर्षीय बिशाल कुमार पासवान र भारतको अररियाका १९ वर्षीय मुन्ना कुमार पासवान रहेका छन्। उनीहरूको साथबाट प्रहरीले रू. ७३,५६० नगद, दुईवटा मोटरसाइकल र चारवटा मोबाइल फोन समेत बरामद गरेको छ।
बरामद गरिएका मोटरसाइकलहरूमा प्रदेश १-०२-०४३ प ५३८५ नम्बरको पल्सर र प्रदेश १-०२-४२ प २७३६ नम्बरको सुपर स्प्लेन्डर रहेका छन्। यसैगरी बरामद गरिएका मोबाइलहरूमा एक-एक थान स्यामसङ, ओपो, रेड्मी र सादा सेट मोबाइल रहेका छन्।
पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता डिएस्पी बेद प्रकाश जोशीले जनाएको छ।