रणभुमी डेस्क बिहिबार, पुष ११, २०८१
विराटनगर / मोरङ जिल्लाको कटहरी गाउँपालिकामा एक २२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार बिहान करिब साढे चार बजे जहदा गाउँपालिका-३ की पीडित युवती घर पछाडिको जुडी खोलामा शौच गर्न गएको बेला तीन जना युवाले अपहरण गरी बलात्कार गरेका हुन्।
आरोपीहरूले पीडितलाई सिटी सफारीमा राखेर घरबाट करिब ३ किलोमिटर टाढा कटहरी-२ स्थित बाँसघारी नजिकको खेतमा लगेर सामूहिक बलात्कार गरेको बताइएको छ। घटनापछि उनीहरूले पीडितको हात-खुट्टा कपडाले बाँधेर र मुखमा कपडा कोचेर अर्धचेत अवस्थामा छाडेर फरार भएका थिए।
स्थानीयले दिउँसो करिब साढे बाह्र बजे पीडितलाई फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले तत्काल उद्धार गरी पीडितलाई उपचारका लागि कोशी अस्पताल पठाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कटहरी-२ का २० वर्षीय महमद रमजान, १९ वर्षीय सुनिल कुमार साह र भारतीय नागरिक १८ वर्षीय महमद गुल्जरलाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूविरुद्ध अपहरण, शरीर बन्धक र जबरजस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जनाएको छ।
मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङ्ग प्रवक्ता डिएस्पी बेद प्रकाश जोशीले जनाएको छ।