०६ पुष २०८१, शनिबार
Tags

जिकर एक्स विराटनगर बजारमा प्रवेश

रणभुमी डेस्क बिहिबार, पुष ०४, २०८१

विराटनगर / नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ आयाम थपिएको छ । विश्वप्रसिद्ध इलेक्ट्रिक सवारी निर्माता जिकरले आफ्नो एक्स मोडल नेपाली बजारमा भित्र्याएको छ । पायोनियर मोटोकर्प प्रा.लि. मार्फत विराटनगरस्थित सिटी प्यालेसमा आयोजित विशेष कार्यक्रममा यस प्रिमियम इलेक्ट्रिक एसयुभीको औपचारिक सार्वजनिकीकरण गरिएको छ ।

जिकर एक्स दुई भिन्न भेरियन्टमा उपलब्ध छ – डुअल-मोटर अल-व्हील ड्राइभ (एडब्लूडी) र सिङ्गल-मोटर रियर-व्हील ड्राइभ (आरडब्लूडी) । दुवै भेरियन्टमा ६६ किलोवाट क्षमताको ब्याट्री जडित छ, जसले एकल चार्जमा ४४० किलोमिटरसम्मको यात्रा गर्न सक्ने क्षमता राख्छ । १५० किलोवाटको डिसी र २२ किलोवाटको एसी चार्जिङ क्षमता भएको यो गाडी मात्र ४ घण्टामा पूर्ण चार्ज हुन सक्छ ।

 

शारदा ग्रुपका प्रबन्ध निर्देशक सन्दीपकुमार शारडाका अनुसार जिकर एक्स आधुनिक जीवनशैलीका लागि विशेष रूपमा डिजाइन गरिएको प्रिमियम कम्प्याक्ट एसयुभी हो । उनका अनुसार यो गाडी नेपालका सबै प्रकारका सडकहरूमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम छ ।

यस गाडीमा १४.६ इन्चको टचस्क्रिन, ८.८ इन्चको इन्स्ट्रुमेन्ट प्यानल र २४.३ इन्चको अग्मेन्टेड रियालिटी हेड-अप डिस्प्ले जस्ता अत्याधुनिक सुविधाहरू समावेश छन् । सुरक्षाका दृष्टिकोणले स्वचालित आपतकालीन ब्रेकिङ र ब्लाइन्ड स्पट डिटेक्सन जस्ता विशेषताहरू समावेश गरिएका छन् ।

एडब्लूडी भेरियन्टले ० देखि १०० किलोमिटर प्रति घण्टाको गति मात्र ३.८ सेकेन्डमा प्राप्त गर्न सक्छ र यसको अधिकतम गति १९० किलोमिटर प्रति घण्टा रहेको छ । यो गाडी ४ वा ५ सिट क्षमतामा उपलब्ध छ ।

पायोनियर मोटोकर्पले कोशी र मधेश प्रदेशका ग्राहकहरूका लागि विराटनगरबाटै बिक्री र सेवा सुविधा उपलब्ध गराउने जनाएको छ । कम्पनीले क्रमशः देशभरका अन्य प्रमुख शहरहरूमा पनि आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्