०६ पुष २०८१, शनिबार
Tags

विराटनगरमा गणेश पूजा समारोह भव्यताका साथ सम्पन्न

रणभुमी डेस्क सोमबार, भाद्र २४, २०८१

विराटनगर / विराटनगर महानगरपालिकाको वडा नं. १५ स्थित रामजानकी मन्दिरमा गणेश पूजा समारोह भव्यताका साथ मनाइएको छ। प्रत्येक वर्षझैं यस वर्ष पनि गणेश पूजा समितिले स्थानीयहरूको सहयोगमा विशाल गणेश प्रतिमा स्थापना गरी विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरेको थियो।

यस वर्षको समारोहमा भारतका प्रसिद्ध कलाकार राहुल बिहारी र उनको टोलीले धार्मिक झाँकी सहित नृत्य तथा भजन संगीत प्रस्तुत गरेका थिए। कार्यक्रममा ४ हजारभन्दा बढी स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।

आइतबार साँझ आयोजित कार्यक्रमको प्रमुख अतिथिका रूपमा कोशी प्रदेश सरकारको मोरङ निर्वाचन क्षेत्र नं. ५(२) का प्रदेश सांसद अमृत अर्याल उपस्थित थिए। त्यसैगरी, विशिष्ट अतिथिहरूमा नेपाली कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता र पूर्व स्वास्थ्य मन्त्री जयराम यादव रहेका थिए।

गणेश पूजा समितिका एक सदस्यले बताए अनुसार, “यो वार्षिक समारोहले हाम्रो समुदायलाई एकजुट गर्ने र हाम्रो समृद्ध संस्कृतिलाई संरक्षण गर्ने अवसर प्रदान गर्दछ।”

कार्यक्रममा प्रस्तुत गरिएका धार्मिक र मनोरम झाँकीहरूले दर्शकहरूलाई मन्त्रमुग्ध पारेको थियो। विभिन्न उमेर समूहका सहभागीहरूको उल्लेखनीय उपस्थितिले यस समारोहको लोकप्रियता र महत्त्व प्रतिबिम्बित गरेको छ।

यो समारोहले विराटनगरमा धार्मिक सहिष्णुता र सांस्कृतिक विविधताको उदाहरण प्रस्तुत गरेको छ। स्थानीय प्रशासन ईलाका प्रहरी कार्यालय रानीले कार्यक्रमको सुरक्षा व्यवस्था र व्यवस्थापनमा विशेष ध्यान दिएको थियो।

यहाँ कमेन्ट गर्नुहोस्