रणभुमी डेस्क शुक्रबार, भाद्र १४, २०८१
विराटनगर / मोरङ उद्योग व्यापार संघको महिला उद्यमी समितिले आगामी भदौ १४ देखि १६ गतेसम्म विराटनगरमा ‘नारी उत्सव २०८१’ प्रदर्शनी आयोजना गर्ने भएको छ। हरितालिका तिजको अवसरमा आयोजना हुन लागेको यो तीन दिने कार्यक्रम कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिकाको सहकार्यमा हुन लागेको हो।
उत्सवको मुख्य उद्देश्य महिला उद्यमीहरूलाई आफ्ना उत्पादनहरू प्रदर्शन गर्ने र बजारीकरण गर्ने अवसर प्रदान गर्नु रहेको छ। यसका साथै स्थानीय उद्योग र व्यवसायको प्रवर्द्धन, निर्यातयोग्य वस्तुहरूको पहिचान र उत्पादक तथा उपभोक्ताबीचको सम्बन्ध विस्तार गर्ने लक्ष्य पनि रहेको छ।
विराटनगरको सिटी पार्टी प्यालेस एण्ड रिसोर्टमा आयोजना हुने यस उत्सवमा करिब ६० वटा स्टलहरू राखिने छन्। कार्यक्रममा तिज क्वीन २०८१ प्रतियोगिता, स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएको छ।
उत्सवको उद्घाटन समारोहमा मिस नेपाल वर्ल्ड आश्मा कुमारी केसी र मिस नेपाल अर्थ सुमना केसीको विशेष उपस्थिति रहने जानकारी दिइएको छ। कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म संचालन हुनेछ र दर्शकहरूको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
मोरङ उद्योग व्यापार संघकी महिला उद्यम समिति संयोजक श्रुति शर्माका अनुसार यो उत्सव कोशी प्रदेशमै पहिलो पटक आयोजना हुन लागेको हो। उनले यस कार्यक्रमलाई सफल बनाउन सबै पक्षको सहयोगको अपेक्षा गरेकी छिन्।