२१ पुष २०८१, आइतबार
Tags

दाइजो प्रथा विरुद्ध मैथिली भाषाको पहिलो वेब सिरिज ‘प्यार मे दहेज’ प्रसारण हुँदै

रणभुमी डेस्क शुक्रबार, आषाढ २९, २०८१

सप्तरी / दाइजो प्रथा विरुद्धको कथामा आधारित मैथिली भाषाको पहिलो वेब सिरिज “प्यार मे दहेज” यही शुक्रबार, असार २८ गतेदेखि प्रसारण हुने भएको छ। रामलाल शो युट्युब च्यानलमा प्रसारण हुने यो सिरिज ८ एपिसोडको हुनेछ।

निर्देशक राजु राजदेव चौधरीले रणभूमीलाई बताए बताए अनुसार, यस सिरिजले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने क्रममा दाइजोको विवादले निम्त्याउने दुःखद घटनाहरूलाई चित्रण गरेको छ।

बाबु चौधरी निर्माता र कृष्ण चौधरी सह-निर्माता रहेको यस वेब सिरिजको लेखन, निर्देशन र सम्पादन राजु राजदेव चौधरीले गरेका छन्। सिरिजको सम्पूर्ण छायांकन सप्तरीको छिन्नमस्ता गाउँपालिकाको सखडा, मन्दिर आसपासको गाउँमा गरिएको छ।

मैथिली क्षेत्रका चर्चित कलाकारहरू जस्तै कमेडियन रामलाल, आनन्द चौधरी, बिनिता ऋषि, विवाह रजक, रश्मि देवी यादव, चन्द्र नारायण पण्डित, पंकज पण्डित, बब्लु चौधरी, र कृष्णा चौधरीको अभिनय यस सिरिजमा देख्न सकिनेछ।

नेपाली समाजमा, विशेषगरी मधेश क्षेत्रमा, दाइजो प्रथाले गहिरो जरा गाडेको छ। धर्म र संस्कृतिको नाममा प्राचीन समयदेखि चलिआएको यस प्रथाले धेरै नेपाली महिलाहरूलाई शोषण र हिंसाको शिकार बनाएको छ, केही अवस्थामा ज्यान समेत गएको छ।

नेपाली कला क्षेत्रमा दाइजो प्रथाका कारण शोषण भएका धेरै कथाहरूमा चलचित्र, सिरियल, म्युजिक भिडियो निर्माण भएका छन्। तर “प्यार मे दहेज” सम्भवतः मैथिली भाषामा यस विषयमा बनेको पहिलो वेब सिरिज हो।

सिरिजको टिजर केही दिन अघि नै रामलाल शो युट्युब च्यानलमा सार्वजनिक भइसकेको छ। यस सिरिजले दाइजो प्रथा विरुद्ध जनचेतना जगाउन र समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने आशा गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्