रणभुमी डेस्क बुधबार, जेठ १६, २०८१
विराटनगर / जनता समाजवादी पार्टी नेपालबाट विभिन्न कारणले छुट्टिएर गठन भएको जनता समाजवादी पार्टीले मोरङ जिल्ला समितिको घोषणा गरेको छ।
पार्टीले आज एक पत्रकार सम्मेलन गरी मोहम्मद नसरुलको नेतृत्वमा ३१ सदस्यीय जिल्ला समिति घोषित गरेको हो। समितिमा नसरुल अध्यक्ष, सत्य प्रकाश लुनिया उपाध्यक्ष, विकास कुमार मण्डल सचिव र खड्ग राई सहसचिव रहेका छन्।
पत्रकार सम्मेलनमा नयाँ पार्टीले नेपालको संविधान र निर्वाचन आयोगको प्रक्रिया अनुसार मिति २०८१।०१।२४ मा दर्ता नम्बर १९८ बाट आफूलाई दर्ता गराएको जानकारी गराएको छ। पार्टीको उद्देश्य विगतमा एकात्मक र केन्द्रीकृत राज्यसत्ताले गरेको जातिय, वर्गीय, लिङ्गीय, धार्मिक तथा सांस्कृतिक विभेद, शोषण र उत्पीडनको अन्त्य गरी सामाजिक न्याय र समानतामा आधारित नेपाली समाज स्थापना गर्नु रहेको बताइएको छ।
जनता समाजवादी पार्टीले खस आर्य, मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम, दलित, महिला, शोषित, पिछडिएका वर्गका मुद्दा र समस्यालाई समेट्ने बताइएको छ। पार्टीले यिनीहरुको मुद्दालाई समावेशी र समानुपातिक रुपमा उठाउने प्रतिवद्धता जनाएको छ। वक्तव्यमार्फत पार्टीले सबै तहका नागरिकलाई आफ्नो अभियानमा सहभागी हुन आह्वान गरेको छ।