रणभूमी डेस्क शुक्रबार, भाद्र ३१, २०७९
विराटनगर / विद्यमान बढ्दो बैंक व्याजदर , महंगी र नजिकिँदो चाडपर्वमा समेत सुस्त रहेको स्थानीय बजारको स्थिति प्रति मोरङ्ग व्यापार संघको गम्भिर ध्यानाकर्षण भई एक पत्रकार सम्मेलन आयोजना गर्दै संघका अध्यक्ष नवीन रिजालले सम्पूर्ण व्यापारी व्यवसायिहरुको समस्याहरू सार्वजनिक गरेकाे छ ।
विगत केहि महिनादेखि चर्किदै गएको बैंक व्याजदर, तरलता अभाव तथा आयातमा गरिएका कडाईले औद्योगिक / व्यवसायिक आर्थिक चक्र नराम्ररी प्रभावित भएको बताउँदै लगानी योग्य पूँजीको अभावमा उद्योग / व्यवसायहरू आ-आफ्ना क्षमता अनुरूप कार्य गर्न असमर्थ हुँदै गएको दुरावस्था देखा परेको अध्यक्ष रिजालले जानकारी गराउनुभयो ।
प्रेस विज्ञप्ति मार्फत व्यापारीहरूको समस्या सार्वजनिक गर्दै अध्यक्ष रिजालले भने “विगत ६ महिना मै एकल अंकको बैंक व्याजदर दोब्बर हुन गएको छ भने छोटो अवधि मैं भद्र सहमति भंग गर्दै बैंकहरूले आफूखुशी ४ प्रतिशतसम्म स्प्रेड दर कायम गरेका छन् । यसबाट कोभिड पश्चात् विस्तारै लयमा फर्कदै गरेको अर्थतन्त्रलाई पुनः उच्च बैंक व्याजदरको धक्का लागेको छ ।
एकातिर बैंकहरूका करोडौँका नाफा भन्ने समाचारहरू सुनिन आई रहेको छन् , श्रावणमा मात्रै ९०० करोड मुनाफा कमाएको बुझिएको छ भने अर्कोतर्फ उद्योग / व्यवसाय र उपभोक्ताहरूको नाजुक अवस्था प्रति सरकार र राष्ट्र बैंकले खासै चासो नदिनाले उद्योगी / व्यवसायीहरू हतोत्साहित भई रहेका छन् । यसै बीच नेपाल राष्ट्र बैंकले हाल जारी गरेको चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ का केही प्रावधानहरू समेत औद्योगिक / व्यवसायीक वातावरणका लागि प्रतिकूल रहन गई प्रत्यक्ष प्रभाव पर्ने भएकाले त्यसलाई तत्कालै सुधार गर्न तथा चालू पूँजी कर्जालाई पारदर्शी एवं एकरूपता कायम गर्न समेत हामीले राष्ट्र बैंकलाई सुझावहरू पत्राचार गरेका छौँ । त्यसका साथै , हामीले एकल अंकको व्याजदर कायम गर्नु पर्ने , औद्योगिक / व्यवसायिक प्रयोजनका कर्जाको व्याजदर फरक गरिनु पर्ने , संस्थागत व्याज दर कम गरिनु पर्ने आदि विभिन्न मागहरू बैंक समक्ष राख्दै आएका छौं ।
यस्तै , नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि तय गरेको ७ प्रतिशतको वार्षिक उपभोक्ता मूल्य वृद्धिदर गत साउनमै औसत ८.२६ प्रतिशत हुन पुगेको देखिन्छ । चाडवाड अगावै ध्यू , तेल , फलफूल , माछामासु , गेडागुडी लगायतका खाद्य तथा दैनिक उपभोग्य वस्तुहरूको मूल्य आकाशिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत साउनमै खाद्य तथा पेय पदार्थ अन्तरतग घिउ तथा तेलमा १९.५८ प्रतिशत , फलफूलमा १८.७९ प्रतिशत, रेस्टुरेन्ट तथा होटलमा ११.८४ प्रतिशत, मदिराजन्य पेय पदार्थमा १०.२४ प्रतिशत र दुग्ध पदार्थ तथा अन्डाको मुल्य १०.१९ प्रतिशतले बृद्धि भई सकेको छ भने यातायातमा २३.८८ प्रतिशत , स्वास्थ सेवामा १०.५४ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणमा ९.०४ , शिक्षामा ८.११ र घरायसी उपभोगका वस्तुहरूमा ७.८६ प्रतिशत मुल्यवृद्धि भएको तथ्यांक सार्वजनिक भई सकेको छ ।
यस अवस्थालाई नियन्त्रण गर्न नसके एकातर्फ उद्यमी व्यवसायीहरू पलायन हुने खतरा रहनुका साथै मुलुकको आर्थिक गतिविधिहरू संचालन गर्न कठिन हुन गई अर्थतन्त्रमा प्रतिकुल असर पर्ने निश्चित छ भने अर्को तर्फ कर्जाको व्याजदर वृद्धि हुँदा तत्काल लगानीकर्तालाई असर परे पनि अन्ततः यसको मार उपभोक्ता मै पर्ने हुन्छ । छिमेकी राष्ट्र बंगलादेश र भारतले अर्थतन्त्र सुदृढिकरणका लागि उद्योगी / व्यवसायीहरूलाई प्रोत्साहित गरिरहेको अवस्थामा नेपालमा त्यसको ठिक विपरीत नीतिहरू देखिनु दुःखदायी रहेको बताउनुभयो ।
त्यसका अलावा , त्रुटीगत करका नीतिहरू सहित विभिन्न कारणले स्वदेशमा मंहगी बढिरहँदा सीमा पारीका बजारहरू गुल्जार हुने गरेका छन् भने खुल्ला सीमाबाट चोरी निकासी पैठारी समेत हुने गरेकाले स्वदेशी उद्योग / व्यवसाय थप प्रताडित भएका छन् । स्वदेशी बजारको सुरक्षा एवं सु – व्यवस्थापनका लागि समेत सरकारको कुनै ठोस नीति नहुनु हाम्रा लागि विडम्बनाको विषय हो । अतः नेपाल सरकार , बैंकहरूको नियामक निकाय नेपाल राष्ट्र बैंक र सम्बन्धित निकायहरूलाई मुलुकको विद्यमान अवस्थाहरू प्रति गम्भिर भई नेपाली उद्यमी , व्यवसायी र उपभोक्ताहरूको हक , हित एवं सुरक्षार्थ आ-आफ्नो स्तरबाट जिम्मेवारीपूर्वक तत्कालिक कदमहरू चाल्न हुन जोडदार माग गर्दछौँ ।” भनी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।